कांग्रेस बागमतीमा ट्विस्ट, दुई सांसदले लामाविरुद्धको हस्ताक्षर फिर्ता लिए


काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई सांसदले दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको हस्ताक्षर फिर्ता लिएका छन् ।

कांग्रेस प्रदेश सांसदद्वय मिना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गर्दै दलका नेता लामाविरुद्धको अविश्वास प्रस्तावका विषयमा कुनै जानकारी नै नगराई आफूहरूलाई हस्ताक्षर गराइएकोले त्यसमा आफूहरूको असहमति रहेको उल्लेख गरेका छन् । उनीहरूले उक्त प्रक्रियामा आफूहरू सामेल नरहेको र हस्ताक्षर फिर्ता लिई दलका नेता लामालाई समर्थन यथावत् रहेको जनाएका छन् ।

लामाविरुद्धको अविश्वास प्रस्तावका बारेमा मंगलबारको संसदीय दलको बैठकले टुंगो लगाउने बताइएको छ । श्रेष्ठ हस्ताक्षर गरेको दिनदेखि सम्पर्कविहीन थिइन् । पराजुली आज लामाको पक्षमा खुलेकी हुन् । मुख्यमन्त्री लामाले दुवैलाई मन्त्रीको अफर गरेका छन् । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको पक्षमा अब १९ जना सांसद रहेका छन् । यसअघि लामा १९ सांसदको मत पाएर दलको नेतामा चुनिएका थिए ।