काठमाडौं । पछिल्लो समय नेपालका प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोबाट गुज्रिरहेका छन् । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जसपा सबै दल कुनै न कुनै किचलोबाट गुज्रिँदै आएका छन् । एमाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति गर्ने चाहनाले आन्तरिक द्वन्द्वमा फसेको छ ।
भण्डारीले चाल्ने कदम र त्यसलाई रोक्न एमालेले विभिन्न हतकण्डा प्रयोग गर्दा नेता कार्यकर्तामा चिन्ता बढेको छ । कांग्रेस भने विभिन्न विधेयकका कारण सत्तारुढ एमालेसँग मनमुटावको अवस्थामा छ । त्यसमाथि डा.शेखर कोइरालालगायत अन्य नेताले सरकार र नेतृत्वप्रति गुटबन्दी बढाउँदै लगेका छन् ।
पछिल्लो समय बागमती प्रदेशमा आफ्नै नेतृत्वको सरकार ढाल्न एउटा पक्ष लागेपछि तीव्र असन्तुष्टि उत्पन्न भएको छ । प्रमुख प्रतिपक्ष माओवादी विभाजनको संघारमा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उपमहासचिव जनार्दश शर्माले फायर खोलेपछि असन्तुष्टि शिखरमा पुगेको छ । त्यहाँ विस्तारै नेताहरुमा ध्रुवीकरण बढ्दो छ । पटकपटक विभाजनको समस्या खेप्दै आएको राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच आरोपप्रत्यारोप जारी छ ।
जुनसुकै बेला राप्रपा दुई फ्याक हुने अवस्था छ । एकीकृत समाजवादीमा माधवकुमार नेपालविरुद्ध महासचिव घनश्याम भुसाल र सचिव रामकुमारी झाँक्रीले प्रहार गर्न छाडेका छैनन् । यसअघि नै सो पार्टीका प्रेम आले र किसान श्रेष्ठले दलको निर्देशन अस्वीकार गर्दै आएका छन् । रास्वपा भने सभापति रवि लामिछाने थुनामा परेपछि सही ढंगले चल्न सकेको छैन । रविकै वरिपरि रहेर रास्वपाले कार्यक्रम र अभियान चलाउँदै आएको छ ।
पार्टीलाई नेतृत्व दिने नेता रविबाहेक कोही देखिएको छैन । नागरिक उन्मुक्ति पार्टी अहिले कि भोलि फुट्ने भन्ने अवस्थामा पुगेको छ । सधैं विवादमा रुमल्लिरहेको नाउपा अहिले रेशम चौधरी र रञ्जिता श्रेष्ठ पक्ष विपक्षका बाँडिदा नेतृत्व नै परिवारबाट बाहिर पुगेको छ ।














प्रतिक्रिया