पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेकालाई के गर्ने भन्नेमा एमाले अलमलमा



काठमाडौं – एमालेले पूर्वराष्ट्रपति राजनीतिक दलको कार्यकर्ता हुन नमिल्ने भएकाले सदस्यता नवीकरणको प्रक्रिया नमिलेकाले सदर नहुने स्पष्ट पारेको छ । जसकारण विद्यादेवी भण्डारीको एमालेबाट राजनीति गर्ने चाहनामा पूर्णविराम लागेको छ । तर एमालेमा भण्डारी पक्षमा खुलेका नेता कार्यकर्तालाई के गर्ने भन्ने अन्योल देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीदेखि कर्ण थापासम्मका नेता भण्डारीको पक्षमा खुलेका छन् । भण्डारीको पक्षमा खुलेकालाई कारबाही गरौं त पार्टी फुट्ने डर, कारबाही नगरौं त अध्यक्ष केपी ओली कमजोर हुने अवस्था विद्यमान छ ।

जिल्ला जिल्लामा भण्डारीको पक्षमा नेता कार्यकर्ता खुल्दै गएका छन् । भण्डारीलाई राजनीति गर्नबाट रोक्न नहुने उनीहरूको मत छ । ओली र भण्डारी पक्ष विपक्ष हुँदा पार्टी फुट्ने हो कि भन्ने चिन्ता पनि देखिएको छ । एमाले नेता गुरुप्रसाद बरालले पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको कारणले पार्टी नफुट्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै मंगलबार उनले ओली–भण्डारीका कारण पार्टी झनै समृद्ध, सुदृढ र सवल हुने बताए ।

‘कतै लेखेर राख्नुपर्ने भए लेखेर राखौंला । नभए दुनियाँलाई थाहा पाउनेगरी भनिराखौं– पार्टी पुट्दैन, फुट्ने दिशामा कतै जाँदैन । ढुक्क भएर सबै एमालेका कार्यकर्ताहरु, शुभेच्छुकहरु र आम नेपाली जनताले यो कुरा प्रष्ट बुझे हुन्छ, पार्टी अहिलेको यो चालु मुद्दाबाट समृद्ध, सुदृढ र सबल हुन्छ । फुट्दैन,’ उनले भने ।

विद्या भण्डारीले पार्टीमा आउँछु, सहयोग गर्छु र अगाडि बढाउँछु भनेको तर पार्टी अध्यक्ष हुन्छु, भावी प्रधानमन्त्री बन्छु भनेर कहिले पनि नभनेको उनको भनाइ छ । उनले यसलाई आनावश्यक कुराको संज्ञा दिए । भण्डारीले एमालेलाई थप माया गरेको उनको दाबी छ ।