काठमाडौं – यस वर्षको मनसुनमा तराई मधेशमा खडेरी लम्बिएको छ । अपेक्षित रूपमा पानी पर्न सकेको छैन । जसकारण अझै पनि किसानहरूले धान रोप्न सकेका छैनन् । अधिकांश खेब बाँझै छन् ।
पानी नपरेपछि सर्लाही १ का संघीय सांसद रामप्रकाश चौधरी र मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार गाउँलेले हलो जोत्न लगाएका छन् । महिलाहरु नै हलगोरु बनेर हलो तानेका थिए ।
लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन् । स्थानीयले जबर्जस्ती गरेका भने होइनन् ।
स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई प्रहरीको भेषमा जनप्रतिनिधिलाई पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो ।
थारु समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ । खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन, वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए ।
प्रहरीको भेषमा आएका महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पु¥याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए ।
मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ । मनसुन अनुुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको सांसद चौधरीले बताए ।














प्रतिक्रिया