काठमाडौं – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पीडित युवतीले दिएको जाहेरीपछि झालाई प्रहरीले गत साउन ४ गते पक्राउ गरेको थियो ।
झाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो । जबर्जस्ती करणी आरोपमा पक्राउ परेका झा अहिले हिरासतमा छन् ।
प्रहरीका अनुसार २०८१ जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा एक्लै बसिरहेकी महिलामाथि झाले जबर्जस्ती करणी गरेका थिए । कोठामा आएका झाले पानी दिएलगत्तै ढोकाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार गरेको युवतीको बयान छ ।
’मैले किन चुकुल लगाउनुभएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु भन्दै मेरो अस्मिता लुटियो’, युवतीले भनेकी छन् ।
झाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २१९ अनुसार अनुसन्धान गरिएको हो । उपदफा २ को खण्ड (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिका महिलामाथि जबरजस्ती करणी गरेमा ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार अभियोजनको माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।














प्रतिक्रिया