काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनको माग गर्दै पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न चार प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएको र त्यसको पछि नलाग्न कार्यकर्तालाई समेत आग्रह गरेका छन्।
‘वगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु,’ शर्माले भनेका छन्। त्यस्तै, विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकतालाई चिर्ने समेत तर्क गरेका छन् ।
‘विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ,’ शर्माले लेखेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पार्टीभित्रको विवाद सबै मिलिसकेको दाबी गरेका छन् ।
उनले पार्टीमा कुनै समस्या नभएको जिकिर गरे । समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘हाम्रो पार्टीमा कुनै विरोध छैन । सबै मिलिसक्यो ।’ प्रचण्डले सार्वजनिक मञ्चबाटै माओवादीमा आफूले कहिल्यै पनि कसैलाई कारबाही नगरेको र जनवादी अभ्यास गर्न दिएको दाबी गर्दै आएका छन् ।
पछिल्लो समय उपमहासचिव शर्माले नेतृत्व हस्तान्तरणको बहस छेडेका छन् । उनले हालै दिएको कम्युनिष्ट नेताहरुबाट भएका प्रधानमन्त्रीमा मनमोहन अधिकारीबाहेक सबैले असुली गरेको र भ्रष्टाचार गरेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रचण्डसँग उनको दूरी बढेको अनुमान छ ।














प्रतिक्रिया