काठमाडौं । बागमती प्रदेश सत्ता राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस संसदीय दलको नेता पद गुमाएको भोलिपल्टै मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
कांग्रेस दलको नेताका लागि बुधबार निर्वाचन कार्यक्रम छ । तर लामाले कांग्रेसबाट तीनजना मन्त्री बनाउने तयारी गरेका छन् । कांग्रेसका पाँचजना मन्त्रीले राजीनामा दिएपछ रिक्त रहेका मन्त्रालयहरूम मन्त्री नियुक्ति गर्ने लामाको तयारी छ ।
अहिलेसम्म पार्टीका प्रमुख सचेतक गोविन्द लम्साल, सचेतक गीता गुरुङ र माया श्रेष्ठको नाम चर्चामा छ । उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागेको छ । लम्साल आन्तरिक मामिला तथा कानुनमन्त्री, श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिइने तय भएको छ ।
श्रेष्ठले इन्द्र बानियाँको पक्षमा हस्ताक्षर गरेर पछि फिर्ता लिएकी थिइन् । मन्त्री बनाइदिने आश्वासनपछि उनी सम्पर्कविहीन बनेकी थिइन् । मंगलबार भएको अविश्वास प्रस्तावको पक्षमा श्रेष्ठले हस्ताक्षर गरेकी थिइन् । नियुक्त गरिएका सबै मन्त्रीहरूको आजै सपथग्रहण गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री लामा निकट स्रोतले जनाएको छ । कांग्रेस दलको नेताको हैसियत गुमाए पनि आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने लामाको अडान छ । एमालेले आफूहरूले साथ दिने भन्दै उचालेपछि लामा हौसिएका हुन् । जुन कुरा मन्त्री पदबाट राजीनामा दिएका कांग्रेस सांसद मिनकृष्ण महर्जनले बुधबार सार्वजनिक गरेका छन् ।














प्रतिक्रिया