रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी


काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिए पनि पछि बढाएर ८.८ बनाइएको हो ।

भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर ९८५ माइल टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी जारी गरिएको छ ।

बुधबार रुसको कमचटका प्रायद्वीप नजिकै आएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरूले जनाएका छन् । रूसी विज्ञान एकेडेमीअन्तर्गतको भूभौतिक सेवा विभागको कमचटका शाखाले भनेको छ, ‘कम्तीमा एक महिनासम्म ७.५ म्याग्निच्युडसम्मका उल्लेखनीय र महसुस गर्न सकिने परकम्पहरू जारी रहने अपेक्षा गरिएको छ ।’ ८.८ म्याग्निच्युडको यो भूकम्पले रूसको सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको बाढी निम्त्याएको छ ।

सेभेरो–कुरिल्स्क सहरको केही भागमा बाढी ल्याएको छ । यस सहरमा करिब दुई हजारजनाको बसोबास छ । क्षेत्रीय आपतकालीन मन्त्री सर्गेई लेबेदेवले यो भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।

जापानका विभिन्न क्षेत्रका बासिन्दालाई समुद्री तटबाट टाढा रहन र उच्च स्थानमा जानका लागि निकासी आदेश जारी गरिएको छ । फुकुशिमा डाइची र डाइनी परमाणु ऊर्जा केन्द्रका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

अमेरिकाको माउ टापुमा साइरन र फोन अलर्टहरू बज्न थालेका छन् । यी अलर्टहरूमा स्थानीय समयअनुसार बेलुका ७ः१० बजेभित्र (तीन घण्टाभन्दा कम समयमै) सुनामीको लहर आउने सम्भावना जनाइएको छ ।