रवि थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा रास्वपाको बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भैरहवा पुगेका छन् । संसदीय दलको बैठकका लागि उनीहरू मंगलबार रुपन्देही पुगेका हुन् । पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा रास्वपा संसदीय दलको बैठक राखिएको छ ।

बुधबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दलको बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले जारी गरेको सूचनामा बैठक कसले आह्वान गरेको भन्ने उल्लेख छैन ।

रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

रास्वपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गर्दै संसद अवरोध गर्दै आएको छ । पार्टीले गर्दै आएको संसदको अवरोधको विषयमा पनि समीक्षा हुने नेताहरूको भनाइ छ ।