काठमाडौं । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण रोकिएको छ । एमालेले दबाब दिएपछि बुधबार नियुक्त तीन नयाँ मन्त्रीको शपथ अन्तिम समयमा रोकिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए ।
शपथग्रहण कार्यक्रम बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा तय गरिएको थियो र आवश्यक जानकारी समेत कार्यालयलाई दिइएको थियो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गर्दै संवेदनशील राजनीतिक परिस्थितिमा सरकार विस्तार गर्नु उचित नहुने धारणा राखेका थिए । उनले यस्तो कदमले गलत सन्देश दिन सक्ने भन्दै मन्त्रीहरूको शपथ तत्काल रोक्न सुझाव दिएका थिए।
एमालेको दबाबपछि मुख्यमन्त्री लामा संकटमा परेका छन् । कांग्रेस संसदीय दलमा नेतृत्व चयनका लागि मतदानको प्रक्रिया चलिरहेकै बेला मन्त्री नियुक्ति र शपथको प्रयासले थप राजनीतिक तनाव सिर्जना गरेको छ । तर सत्ता साझेदार दल एमालेले असहयोग गर्ने संकेत देखिएपछि लामाले अब के गर्लान् भन्ने चासो उत्पन्न भएको छ ।














प्रतिक्रिया