काठमाडौं । जीवनको उर्बर समय अर्धभूमिगत बिताएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अब खुल्ला राजनीतिमा आउने भएका छन् । ९० वर्षीय उनी अब अर्धभूमिगत रहने छैनन् ।
साउन ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी भूमिगत नै रहने, तर महामन्त्री र प्रवक्तालाई खुला गर्ने निर्णय गरेको छ । पार्टीको विचारलाई जनतामा लैजान आवश्यक देखिएकोले यस्तो नीति ल्याइएको हो ।
‘देशमा बढिरहेको प्रतिगमनको खतरा, राष्ट्रियता र सार्वभौमिकतामा बढ्दै गएको खतरासमेतका कारणले जनताका बिचमा गएर नै सार्वजनिक रूपले आफ्ना विचार लैजानुपर्ने आवश्यकतासमेत माथि ध्यान दिएर अब अर्धभूमिगत अवस्थाको ठाउँमा पार्टीको महामन्त्री सार्वजनिक नै हुनुपर्ने आवश्यकता देखेर पार्टीको केन्द्रीय समितिले त्यही प्रकारको निर्णय गरेको छ,’ विज्ञप्तिमा छ, ‘पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तो नै भूमिगत रहनेछ र पार्टीका प्रवक्ताहरूलाई खुला राख्ने पार्टीको पहिलेको नीति कायम रहनेछ ।’
पञ्चायतकालमा वारेन्ट जारी हुँदा सिंह भूमिगत हुनुपरेको र गणतन्त्र स्थापनापछि अर्थभूमिगत रहदै आएको पनि पत्रमा उल्लेख छ । उनको पार्टी भूमिगत भए पनि श्रीमती दुर्गा पौडेल भने खुला राजनीतिमा छिन् । उनले केही समयअघि सांसद बनेकी थिइन् ।














प्रतिक्रिया