कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ, लामालाई मात्र १४ मत


काठमाडौं । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । उनले कुल ३७ मध्ये २२ प्राप्त गरे । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङले १४ मत प्राप्त गरेका छन् । एक मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार भएको अविश्वासको प्रस्तावको मतदानमा लामाले १५ मत प्राप्त गरेका थिए ।

बानियाँले भने २२ नै मत पाएका थिए । कांग्रेसको विधानमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनु अनिवार्य मानिन्छ । तर लामाले भने आफूले दलको नेताको हैसियत गुमाउँदैमा मुख्यमन्त्री नछाड्ने दाबी गरेका छन् । लामाले बुधबार बिहान मात्र तीनजना मन्त्री नियुक्त गरेका थिए । आजै दिउँसो शपथ खुवाउने कार्यक्रम थियो । तर सत्ता साझेदार दल एमालेले असन्तुष्टि जनाएपछि मन्त्रीको शपथ रोकिएको छ ।