काठमाडौं – नवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। पहिलोपटक जुम्ला पुगेका उनले आठ मिनेट १६ सेकेन्डको कुराकानीसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोलाई उनकै पिता पारस शाहदेखि परिवारका अन्य सदस्यले पनि सेयर गरिरहेका छन् । भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरेका छन् । हाल विदेशमा स्नातकोत्तर तह अध्ययन गरिरहेका हृदयेन्द्र छुट्टीमा नेपाल आएका हुन् । अहिलेसम्म उनी सामाजिक सञ्जालमा यसरी सक्रिय देखिएका थिएनन् । जुम्ला जस्तो भौगोलिक रूपमा टाढा, तर ऐतिहासिक महत्त्व बोकेको जिल्लामा उनले खिचेर हालेको भिडियोलाई केहीले सामाजिक र सांस्कृतिक संवेदनशीलता नबुझेको भनेर टिप्पणी गरेका छन् । यद्यपि केहीले भने जुम्लाको अन्तर्राष्ट्रिय ब्रान्डिङ पनि भनेका छन् ।
भ्रमणका क्रममा हृदयेन्द्र शाहले चन्दननाथ मन्दिरको दर्शन, स्थानीयवासीहरूसँग भेटघाट र केही सांस्कृतिक स्थलहरूको अवलोकनसमेत गरेका छन् । भ्रमणमा स्थानीय नागरिक र युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। भिडियोमा औपचारिक स्वागत, सांस्कृतिक प्रस्तुतिहरू र सौहार्दपूर्ण संवाद भएको देख्न सकिन्छ । अझ एक युवतीसँग हृदयेन्द्रको रोचक संवाद र उनको मधुर गायन उत्कृष्ट छ ।
हृदयेन्द्र शाहको सार्वजनिक उपस्थिति र युवासँगको प्रत्यक्ष संवादले बहसलाई तीव्र बनाएको छ। कतिपय विश्लेषकहरूले यस भ्रमणलाई सामाजिक पहुँच विस्तारको संकेत मानेका छन् भने केहीले यसलाई सामान्य धार्मिक तथा पारिवारिक क्रियाकलापका रूपमा तटस्थ दृष्टिकोणले विश्लेषण गरेका छन्। जुनसुकै दृष्टिकोणबाट हेरिए पनि, हृदयेन्द्र शाहको यो पहिलो सार्वजनिक भ्रमणले देशको राजनीतिक तथा सामाजिक बहसमा नयाँ विमर्श थपेको देखिन्छ।














प्रतिक्रिया