काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र कठायतले सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लेखेको भन्दै पाल्पाका राजु गैरेमाथि हातपात गरेका छन् । पार्टी कार्यालय नजिकै एक रेस्टुरेन्टमा चिया खाइरहेका गैरेलाई दुई युवकसहित आएका व्यक्तिले जबर्जस्ती तानेर छेउमा लगी हातपात गरेको भिडियो अहिले चर्चामा छ ।
तर राप्रपाका केन्द्रीय सदस्य उद्धवराज भेटुवालले कुटपिट काण्डको बचाउ गरेका छन् । उनले अनर्गल र सुनुयोजित कुप्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् । ‘सरासर अतिरञ्जित गरिएको प्रष्ट छ । कुटपिट भनिएको सिसिटिभी भिडियो हेर्दा त्यहाँ दुई व्यक्तिबीच विवाद भएको र घम्साघम्सी बढ्दै गएपछि हात हालाहाल हुनबाट त्यसलाई सबै मिलेर रोकेको देखिन्छ । सो भिडियोमा कतै हात हालाहाल र कुटपिट भएको देखिँदैन ।
पार्टीको कार्यालय र सन्दर्भ बाहिर रेष्टुरेन्टमा त्यो पनि अध्यक्ष राजधानी बाहिर भएको अवस्थामा छत्र कठायत र राजु गैरेबीच भएको व्यक्तिगत विवादबाट उत्पन्न परिस्थितिलाई अध्यक्षको निर्देशनमा वा चाहनामा घटना गरियो भन्ने ढंगबाट नेतृत्वको बदनाम गर्ने र चरित्रहत्या गर्ने उद्देश्यले भैरहेको प्रचारवाजी पूर्णतः भ्रामक, सुनुयोजित, द्वेषपूर्ण र पुर्वाग्रहबाट प्रेरित देखिन्छ,’ उनले भनेका छन् ।
राप्रपामा कुटपिटको घटना नयाँ भने होइन । यसअघि राप्रपाको कार्यसम्पादन समितिमै केन्द्रीय नेता कुटिएका थिए । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले उपाध्यक्ष विक्रम पाण्डेलगायतमाथि कुटपिट गरेका थिए । उनलाई पार्टीले कारबाही गरेको थियो । राप्रपामा अहिले अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच संघर्ष छ ।














प्रतिक्रिया