तोसिमा कार्की भन्छिन्, दुर्घटनामा परेका आमाबुबाको हेरचाह गर्नुपर्ने भएकाले बैठकमा जान सकिनँ


काठमाडौं – रास्वपा सांसद डा.तोसिमा कार्कीले दुर्घटनाबाट गम्भीर घाइते आमाबुबाको उपचारमा व्यस्त हुुनुपर्दा आफू भैरहवामा भएको संसदीय दलको बैठकमा जान नसकेको बताएकी छन् । आफ्नो अनुपस्थितिलाई लिएर सर्वत्र टीकाटिप्पणी भएपछि कार्कीले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो बाध्यता सार्वजनिक गरेकी हुन् ।

तोसिमाले आफू अमेरिकाको भ्रमणबाट फर्केलगत्तै भयानक कार दुर्घटनामा आमाबुबा घाइते भएकाले पाटन अस्पतालमा उपचार गरी घर लगेको बताएकी छन् । आमाको छातीमा पाँचवटा करङ भाँचिएकाले आफैंले स्याहारसुसार गर्नुपर्ने भएकाले बैठकमा आउन नसक्नेबारे पार्टीलाई जानकारीसमेत गराएको उल्लेख गरेकी छन् ।

‘बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ। म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेकी छु। यसै कारणले म यहाँ संसद, सिंहदरबार र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रमहरूमा साथै जनतामाझ पनि समय मिलाउँदै निरन्तर उपस्थित भइरहेकी छु, तर काठमाडौँ उपत्यका छाडेर भने अझ केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ उनले भनेकी छन्, ‘अहिले रूपन्देहीमा भइरहेको बैठकमा म सहभागी हुन नसक्ने कुरा संसदिय दलको नेता, उपनेता, ‌ कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत नै छ ।’

आफूलाई पटकपटक प्रश्न आउन र टीकाटिप्पणीसहित समाचार नै बन्न थालेपछि सामाजिक सञ्जालमार्फत जानकारी गराउन बाध्य भएको उनले बताएकी छन् ।