काठमाडौं । कांग्रेस दलको नेताको हैसियत गुमाएपछि पनि राजीनामा नदिने अडानमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा गलेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा गलेका हुन् ।
देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएका थिए । ‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’
देउवासँगको भेटपछि लामाको ओठमुख सुकेको थियो । उनले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएका छन् । ‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ उनी निकट एक नेताले भने, ‘तर, उहाँले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।’
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि लामा नैतिक संकटमा परेका छन् । उनले दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने व्यवस्था संविधान उल्लेख नभएको बताउँदै आएका छन् । तर गत वर्ष नै लामा र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको कांग्रेसका एक सांसदले बताए ।














प्रतिक्रिया