काठमाडौं – माओवादी स्थायी समिति बैठक शुक्रबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा पक्ष आमनेसामने हुँदैछन् ।
केही समययतादेखि प्रचण्डले शर्मामाथि विभिन्न आरोपप्रत्यारोप गरिरहेका छन् । उनले जनार्दनलाई नेतृत्वविरुद्ध सिंगौरी खेल्न छुट दिएको भन्दै आएका छन् ।
जनार्दनले सामाजिक सञ्जालबाटै चारबुँदे स्पष्टीकरणसमेत दिएका छन् । उनले विशेष महाधिवेशन बोलाएर पार्टी पुनर्गठन गर्न माग गरेपछि त झन् प्रचण्ड पक्ष आगो भएका छन् । आजको बैठकमा दुवै पक्षबीच घम्साघम्सी नै हुने नेताहरुको भनाइ छ ।
हिजोसम्म नेतृत्वविरुद्ध एक्लै लड्दै आएका जनार्दन शर्माको पक्षमा अहिले सुदन किराँती, शिवकुमार मण्डललगायत खुलेका छन् । मण्डलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको उदाहरण दिँदै आफ्ना अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उपमहासचिव शर्माले उठाएको विचारलाई दबाइए पार्टी नै नजोगिने चेतावनीसमेत दिएका छन्।
‘अध्यक्ष वरिपरि स्वार्थपूर्तिकारी घेरा बनाएर सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिले ऐतिहासिक योगदानलाई गुमाउने खतरा हुन्छ। केपी ओलीलाई विधि मिचेर माफियासँग दलाली गर्न दिएका गल्तीहरू आज पनि हाम्रोसामु छर्लङ्गै छन्,’ मण्डलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो। कमरेड प्रभाकरले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोज्ने प्रवृत्तिले न पार्टी जोगिन्छ, न देश ।
सुदन किराँतीले पनि अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताउँदै आएका छन् । पार्टीमा धेरै विकृति र विसंगति देखिएको भन्दै उनले सुधार गरेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।














प्रतिक्रिया