फूलपातीमा रिलिज हुने ‘माइतीघर’को फस्टलुक रिलिज



यो वर्षको दशैंको फूलपाती अर्थात असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिदै फस्टलुक तयार पारिएको छ । विजय बस्यालले यो पोस्टर तयार पारेका हुन् ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल यो फिल्मका कार्यकारी निर्माता हुन् ।

रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ ।

यो फिल्म दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।

फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

निर्माणपक्षले फिल्मको फस्टलुकमा पात्र चित्रण मात्र गर्न खोजेको छ । पोस्टरमा एउटा घर छ । जहाँ बत्ती बलिरहेको छ । यसले, माइतीघरलाई देखाउन खोजेको वुझ्न सकिन्छ ।

फिल्म ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् ।

रोहितले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै, फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।