प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाँदै


काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार तुर्कमेनिस्तान जाने भएका छन् । भूपरिवेष्ठित विकासशील देशहरूसम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली तुर्कमेनिस्तान जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सहअध्यक्षता र अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुख, राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका अन्य उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग साइडलाइन भेटवार्ता गर्ने तालिका छ ।

प्रधानमन्त्री ओलीसँगै पत्नी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद सूर्य थापा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहने जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने छन् ।