काठमाडौं । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललाई टेन्सनले छाडेको छैन । यो तीन चार वर्षको बीचमा उनलाई एउटा न एउटा भाउतो आइलागेको छ । र्सासदहरू प्रेम आले, किसान श्रेष्ठले चुनौती दिँदै अहिलेसम्म माधवका एउटा पनि निर्देशन मानेका छैनन् । उनीहरू पार्टीमा हुनु र नहुनुमा केही फरक छैन ।
पार्टी गठनमा महत्वपूर्ण योगदान गरेकी रामकुमारी झाँक्रीसँग त उनको पानी बाराबारको स्थिति छ । कतिसम्म भने माधवले झाँक्रीलाई पार्टीबाटै निकाल्ने तयारीसमेत गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको निरन्तरको प्रहार र आफ्ना नेता गुमाउँदै गएका माधवले केही दिनअघि वामदेव गौतमलाई पार्टीमा भित्र्याए । तर उनले एक महिना नबित्दै जिम्मेवारी नदिए पार्टी छाड्ने धम्की सुनाउन थालेका छन् ।
एमाले छाडेका घनश्याम भुसाललाई एकीकृत समाजवादीको महासचिव बनाएका माधव अहिले उनैबाट असुरक्षित भएका छन् । शुक्रबार पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको बताएपछि त माधवको कन्पारो तातेको छ । पार्टीका नेता भए पनि खनालले एउटा पनि निर्णय नमानेको भन्दै माधवले उनलाई बिदा हुन चेतावनी दिएका छन् । नेपालले खनाललाई पार्टी नीतिविपरीत बोलेकाले खुुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
उनले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकाले उनको भनाइको अर्थ नरहेको बताए । पार्टीभित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल १ नम्बरमा रहेको भन्दै उनले पार्टीमा बस्ने अधिकारसमेत नभएको बताए । ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआईको जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ,’ नेपालले भने ।














प्रतिक्रिया