तराई मधेश खडेरीको कारण जर्जर अवस्था सरकारको बेवास्ता विरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौं l खडेरीका कारण मधेस क्षेत्र गम्भीर संकटमा पर्दै गएको भन्दै सरकारले आवश्यक राहत र दीर्घकालीन समाधानको उपाय नगरेको आरोपसहित आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

विभिन्न नागरिक अभियन्ता, अधिकारकर्मी, विद्यार्थी र पीडित पक्षको सहभागितामा आयोजित उक्त प्रदर्शनमा “मधेस सुख्खा, सरकार मुखदर्शक”, “खडेरीपीडितलाई राहत दे”, “मधेस बाँच्न देऊ” जस्ता नारा लेखिएका प्लेकार्डहरू देखिएका थिए।

प्रदर्शनकारीहरूका अनुसार मधेसका अधिकांश जिल्लाहरू—जसमा सिरहा, सप्तरी, सर्लाही, रौतहट, महोत्तरी लगायतका क्षेत्र समावेश छन्—वर्षाको चरम अभावका कारण गम्भीर खडेरीको चपेटामा परेका छन्। सिंचाइको सुविधा नहुँदा बाली सुक्न थालेको र किसानको बिचल्ली भएको उनीहरूको भनाइ छ।

प्रदर्शनका क्रममा एक अभियन्ताले भने, “काठमाडौंबाट शासन चलाउनेहरूलाई मधेसको सुक्खा जमिन र किसानको पीडा देखिन्न, हामी यति बेला सहरको सडकमा होइन, सरकारको विवेक जगाउन यहाँ उभिएका छौँ।”

प्रमुख मागहरूः

  • खडेरीग्रस्त क्षेत्रमा तत्काल राहत वितरण
  • सुरक्षित पिउने पानी र सिंचाइको आपूर्तिको व्यवस्था
  • दीर्घकालीन जल स्रोत व्यवस्थापन र संरक्षण नीति

प्रदर्शनकारीहरूले सरकारले उपत्यकाभन्दा बाहिरका समस्या बुझ्न आवश्यक संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएका छन्।