ब्रेन ड्रेन टु ब्रेन गेन: हिमानी कोषद्वारा युवालाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन


काठमाडौँ l पूर्व युवराज्ञी हिमानी शाहको अध्यक्षतामा सञ्चालनमा रहेको हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरुलाई स्वदेशमै उद्यमशीलतातर्फ आकर्षित गर्न “ब्रेन ड्रेन टु ब्रेन गेन” नामक विशेष कार्यक्रम आयोजना गर्न लागेको छ।

“स्वदेश फर्क, स्वदेशै स्वर्ग” भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रम शनिबार, साउन १७ गते काठमाडौँको सानेपास्थित इन्टरनेशनल क्लबमा हुने बताइएको छ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी कोषकी अध्यक्ष हिमानी शाह तथा पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि विशेष उपस्थिति रहने जानकारी आयोजक पक्षले दिएको छ।

उक्त कार्यक्रमको उद्देश्य देशबाट बाहिरिएकाहरूलाई फर्काउने, उनीहरूको सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्ने, र युवालाई स्वावलम्बी बन्ने प्रेरणा दिने हो। कार्यक्रमले उद्यमशीलता, नवप्रवर्तन, तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय युवा, व्यवसायी तथा विज्ञहरूलाई एउटै मञ्चमा ल्याउनेछ।