काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा आइतबार पेसी तोकिएको छ । जाहेरीवाला र साक्षीको बयान सकिएपछि आजका लागि काठमाडौँ अदालतमा पेसी तोकिएको हो ।
अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित एमाले सांसद रायमाझीको मुद्दा २८ महिनादेखि विचाराधीन अवस्थामा छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते उनलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखेको थियो । रायमाझीले उच्च अदालत र सर्वोच्च अदालतमा सो आदेशविरुद्ध रिट निवेदन दिए पनि जिल्ला अदालतको फैसला सदर भएपछि उनी अहिलेसम्म थुनामै छन् ।
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझी, आङतावा शेर्पा र गोविन्द चौधरी सर्वोच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए । रायमाझीले पूर्वमाओवादी नेता भएकैले आफूलाई पार्टीले नहेरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
केही दिनअघि माओवादी उपमहासचिव जनार्दन शर्माले रायमाझीलाई केन्द्रीय कारागारमा गएर उनलाई भेटेका थिए । त्यसबेलादेखि नै टोपबहादुर रायमाझी छुट्न लागेको धेरैले अनुमान गरेका छन् । सर्वोच्च अदालतले पनि भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा छिट्टै टुंग्याउने भएको छ ।














प्रतिक्रिया