काठमाडौं । कांग्रेस बागमती प्रदेश सभापति एवं दलका नेता इन्द्रबहादुर बानियाँ चौथोपटकको प्रयासमा मुख्यमन्त्री बन्ने संघारमा छन् । प्रदेश स्थापना भएकै बेला उनी मुख्यमन्त्री बन्न चाहन्थे । तर एमाले र माओवादी तालमेलपछि डोरमणि पौडेल मुख्यमन्त्री बने । त्यसपछि एमालेकै अष्टलक्ष्मी शाक्य र पछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बने ।
पाण्डे र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति थियो । तर उनले पदबाट राजीनामा दिन मानेनन् । त्यसपछि प्रदेश सभा निर्वाचन भयो । प्रदेश सभाको निर्वाचनपछि कांग्रेस पहिलो दल बन्यो । त्यसबेलै बानियाँले मुख्यमन्त्री बन्न खोजेका थिए । उनले १९ सांसद जुटाएका थिए पनि । तर त्यसबेला बुढानिलकण्ठ दाहिना बनिदिएन । जसकारण बहादुरसिंह लामा २१ मत पाउँदै संसदीय दलको नेता निर्वाचित भएपछि बानियाँको सपनामा तुषरापात लाग्यो ।
यसपटक भने बानियाँ २२ सांसदको समर्थन पाउँदै दलको नेता निर्वाचित भएका छन् । आफू दलको नेताबाट पराजित भएपछि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिँदैछन् । आइतबार लामाको राजीनामापछि बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । प्रदेश प्रमुख दिपकप्रकाश देवकोटा विरामी भएर अस्पताल भर्ना भएकाले पद तथा गोपनीयताको शपथान भने ढिलाइ हुने भएको छ । राजीनामाअघि मन्त्रिपरिषद्को बैठक बस्ने र आफ्ना कुराहरू पत्रकार सम्मेलननमार्फत सार्वजनिक गर्ने लामाले बताए का छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार संसदीय दलका नेता बानियाँलाई बुढानीलकण्ठ बोलाएर लामाको सर्त पूरा गर्न निर्देशन दिएपछि नयाँ सरकार बन्न लागेको हो । कांग्रेस र एमालेबिचको सत्तागठन्धनको सहमतिअनुसार अझै नौ महिना प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।
बानियाँले लामा र आफूबिच अहिलेको अन्योललाई सहमतिमै निकास दिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने सहमति भएको बताए का छन्। उनले कांग्रेसभित्र नेतृत्वको परिवर्तनलाई लिएर देखिएको विवाद सामान्य भएको उल्लेख गर्दै लोकतान्त्रिक पार्टीभित्र यस्तो सामान्य हुने दाबी गरे ।
बानियाँले आफूहरूबिच कुनै तिक्तता नरहेको र पार्टी–सरकार सञ्चालनमा सहमति र सहकार्यमा गरिने बताए ।














प्रतिक्रिया