चलचित्र ‘रियाल रिंगेट’ सोमबारदेखि हलबाट उतार्ने निर्माण पक्षको घोषणा


काठमाडौं । सिनेमा हलहरूले उचित शो नदिएको भन्दै चलचित्र ‘रियाल रिंगेट’ को सोमबारबाट प्रदर्शन स्थगन गरिने भएको छ ।

चलचित्र निर्माण पक्षले आइतबार विज्ञप्ति निकाल्दै सोमबारदेखि सिनेमा हलबाट उतार्ने निर्णय गरेको जानकारी दिएको छ । चलचित्रलाई सिनेमा हलहरूले उचित समयमा शो नदिई, केवल अप्रभावकारी समयमा मात्र प्रदर्शन उपलब्ध गराएको कारण आमदर्शकसम्म चलचित्र पुग्न नसकेकाले बाध्य भएर यो निर्णय लिनुपरेको निर्माता गगनलाल प्रधानले जानकारी गराएका छन् ।

‘रेवल फिल्मस् सम्पूर्णमा यो जानकारी गराउन चाहन्छ कि, चलचित्र रियाल रिंगेट साउन १९ गतेका दिनदेखि नेपाली अधिराज्यभरका सम्पूर्ण सिनेमा हलहरूबाट प्रदर्शन स्थगन गरिएको छ । लामो परिश्रम, मेहनत र लगानी पछि तयार पारिएको हाम्रो चलचित्रलाई सिनेमा हलहरूले उचित समयमा शो नदिई, केवल अप्रभावकारी समयमा मात्र प्रदर्शन उपलब्ध गराएको कारण आम दर्शकसम्म चलचित्र पुग्न सकेको छैन। यस परिस्थितिमा हामी बाध्य भएर यो निर्णय लिनुपरेको हो,’ विज्ञप्तिमा भनिएको छ ।

निर्माण पक्षले सबै हल सञ्चालकहरूलाई चलचित्रको प्रदर्शन स्थगन गर्न ध्यानाकर्षण गराएका छन् । चलचित्रमा निता ढुंगानालगायतको अभिनय छ । निर्देशक विभोर पोखरेल हुन् । पछिल्लो समय नेपाली चलचित्रलाई भन्दा हल सञ्चालकहरुले विदेशी फिल्मलाई बढी शो दिएका छन् ।