थारु आयोगकी सदस्यले कार्यबाहक अध्यक्षलाई कार्यकक्षभित्रै थुनिन्


काठमाडौं । थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारु कार्यकक्षभित्रै थुनिएका छन् । सदस्य शान्तिदेवी मोदीले एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा सुबोधसिंहले रोकेपछि कार्यकक्षभित्रै थुनेकी हुन् । कार्यवाहक अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोकामा चाबी लगाएको फोटो मोदीले आफ्नै फेसबुकमा अपलोड गरेकी छन् ।

केहीबेरपछि प्रहरी पुगेर कार्यालयको ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको थियो । उनी एक घण्टा कार्यकक्षमा थुनिएका थिए । आयोगकी सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्‍दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोधसिंह थारूले जानकारी दिएका छन् ।

‘उहाँ (माननीय शान्ति मोदी) एक हप्ताको बिदा लिनुभयो । हामीले दियौं । तर, उहाँ एक महिना बेपत्ता हुनुभयो । हामीले खोजीनीति गर्‍यौं । कुनै सम्पर्कमा आउनु भएन । अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नुभयो । म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइदिनुभयो,’ उनले भने ।