काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठन भएको समितिले सोमबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिलाई छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले आज प्रतिनिधिसभामा बुझाउन लागिएको हो । त्यसका लागि सोमबार बिहानै ७ बजेदेखि समितिको बैठक बसिरहेको छ।
आइतबारकै बैठकको निरन्तरता भनेर सोमबार बिहानदेखि बैठक बसिरहेको हो । समितिका सभापति जीवन परियारले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी रहेको बताएका छन्।
आइतबार रातिसम्मको बैठकमा कुलिङ पिरियड निष्प्रभावी बनाउने दफा कसरी विधेयकमा पर्यो भन्ने पत्ता लाग्न बाँकी नै छ।
खासगरी कुलिङ पिरियडमा त्रुटि कसरी भयो र त्यसमा कसैको संलग्नता भेटिए कस्तो कारबाही गर्ने भन्ने विषयमा समितिका सांसदहरू साझा निष्कर्षमा पुग्न सकेका छैनन्। समितिले कांग्रेस र एमालेसँग यसबारेमा छलफल पनि गरेको थियो।
समितिमा कांग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, एमालेबाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखे पनि प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए। तर कुलिङ पिरियड छेडखानीमा शंकाको सुई सभामुखदेखि मुख्यसचिवसम्म पुगेको सांसदहरूको भनाइ छ ।
मुख्यसचिव एकनारायण अर्याल र संसद् सचिववालयका महासचिव पद्मप्रसाद पाण्डेलगायत यसमा संलग्न रहेको, उनीहरूकै दबाबमा राज्य व्यवस्था समितिका सचिव सरोजकुमार दुराकै निर्देशनमा कर्मचारीहरूले खेलोफड्को गरेको बताइन्छ । यही कारण समिति निष्कर्षमा पुग्न नसकेको हो ।














प्रतिक्रिया