नायक पल शाह र नायिका उपासना सिंह ठकुरी अभिनित फिल्म ‘जलाकी’को दुई पोस्टर सार्वजनिक भएको छ । पहिलो चरणको छायांकन सकेर दोस्रो चरणको छायांकन सुरु गर्नु अगाडि निर्माणपक्षले दुई पोस्टर सार्वजनिक गरेको हो । अशोक थापा मगरको निर्देशनमा यो फिल्म बनेको हो ।
सार्वजनिक दुई पोस्टरमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई स्थान दिइएको छ । एक पोस्टरमा उपासना धिरजसँग रोमान्टिक छिन् भने अर्को एक पोस्टरमा केही भावुक देखिएकी छिन् ।
यही फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली फिल्म क्षेत्रमा पाइला चाल्दैछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा शिल्पा मास्के, माओत्से गुरुङ, वुद्दि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारहरुको अभिनय छ । अन्य केही कलाकारहरुको छनोट कार्य भइरहेको निर्माणपक्षले बताएको छ ।
‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई वुझाउँछ । यो फिल्मको छायांकन तीन चरणमा हुने निर्माणपक्षले बताएको छ ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा समेत यो फिल्मको छायांकन हुनेछ । फिल्मका निर्माताहरुमा ओम घर्ती मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।
एम मिडिया प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा शैलेन्द्र डी कार्कीको डीओपी, एसडी योगी र सरित राइको संगीत छ ।














प्रतिक्रिया