लामाको राजीनामा पत्र बुझाइयो, बागमतीमा आजै नयाँ सरकार गठनका लागि आह्वान हुने


काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दिएको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाइएको छ ।
लामाका तर्फबाट प्रमुख स्वकीय सचीव छत्र लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।

लामाले आइतबार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी राजीनामा घोषणा गरेर काठमाडौं हिँडेका थिए ।

मुख्यमन्त्री पदबाट लामाले दिएको राजीनामा आजै स्वीकृत गरी प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भएका छन् । देवकोटा स्वास्थ्य लाभपछि कार्यालयमा उपस्थित भएका छन् । सोमबार सिमरा हुँदै उनी हेटौँडास्थित कार्यालयमा पुगेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

लामा २०८१ साउन ९ गते मुख्यमन्त्री बनेका थिए । उनले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री लामालाई पार्टी सभापति शेरबहादुर देउवा पनि पद छाड्न निर्देशन दिएका थिए । अब बागमतीमा कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्नेछन् ।