रुपन्देही ३ मा रास्वपाबाट कुसुम महर्जन उम्मेदवार बन्ने सम्भावना



काठमाडौंं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले साउन ७ गते उम्मेदवार आह्वान गरेको थियो। जसअनुसार साउन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। अहिलेसम्म १० जनाको आवेदन परेको बुझिएको छ ।

अहिलेसम्म कुनै पनि पार्टीले उम्मेदवार टुंग्याएका छैनन् । यसैक्रममा रास्वपाकी केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएकी छन्। महर्जनले रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने हिसाबले आफूले समानुपातिकको सूचीबाट नाम हटाउन खोजेको बताएकी छन् ।

समानुपातिकको बन्द सूचीमा भएको व्यक्ति प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी प्रबन्ध छ। उनले आफ्नो व्यक्तिगत चाहनामा भन्दा पनि पार्टीसँग सल्लाह गरेरै नाम फिर्ता लिन खोजेको दाबी गरेकी छन् ।

उनी सिद्धार्थ नगरपालिका–८ की स्थानीय बासिन्दा हुन्। व्यवसायको सिलसिलामा उनी काठमाडौं नै बस्छिन्। उनले आफू नै उम्मेदवार बन्ने सम्भावना पनि व्यक्त गरिन्। रास्वपा प्रवक्ता मनिष झाले समानुपातिकको सूचीबाट नाम हटाउन पार्टीमा उनको निवेदन परेको र निवेदनमाथि मंगलबार दिउँसो ३ बजे बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी दिएका छन् । यदि पार्टीले स्वीकार गरेमा उनी उम्मेदवार बन्ने निश्चित छ । रुपन्देही ३ मा रास्वपाको १४ हजार समानुपातिक मत छ ।