काठमाडौं । माओवादीको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । सोमबार सम्पन्न बैठकले दुई पार्टीबीच एकता हुने र चाँडै कार्यदल गठन हुने निर्णय गरेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाले बताएका थिए ।
तर २४ घन्टा बित्न नपाउँदै विप्लव नेकपाले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा नपुगेको निष्कर्ष निकालेको छ । नेकपाको मंगलबार बसेको अनौपचारिक स्थायी समिति बैठकले माओवादीसँग एकता भन्दा पनि नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको छ ।
आगामी चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने गरी उत्पादन केन्द्रित कार्यक्रम र महासचिव विप्लवको नेतृत्वमा देशलाई निकास दिने कार्ययोजना अघि बढाउने सहमति बनेको छ। अबको दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने संकेत गरेको छ।
बैठकमा नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकता औँल्याइएको छ। नेकपाले आइतबार केही सञ्चारमाध्यममा प्रकाशित ‘पार्टी एकता टुंगिएको’ भन्ने समाचारलाई हल्ला मात्र भएको प्रतिक्रिया दिएको छ। पार्टीले यस्तो हल्लाको भरमा एकता सम्भव नरहेको स्पष्ट पारेको छ।














प्रतिक्रिया