काठमाडौं । सुनसरी वराह क्षेत्रका अर्थराज कोइराला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला मंगलवार उनी विराटनगरबाट पक्राउ परेका हुन् ।
आफ्नै घरमा काम गर्न राखिएकी नाबालिगलाई यौन दुर्व्यवहार गरी फरार भएका उनी पहुँचकै आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् । अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताएका छन् ।
कांग्रेसका हाइ प्रोफाइल नेताहरूसँग संगत भएका कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा उनले आफ्नै घरमा बस्ने नाबालिगलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।
प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए । कोइरालालाई सुनसरी जिल्ला अदालतले ले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो । बालबालिकासम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।














प्रतिक्रिया