काठमाडौं । लोडसेडिङको तालिका सार्वजनिक गर्ने चितवनको चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ ।
गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङकै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणले मंगलबार पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो ।
चनौली वितरण केन्द्रअन्तर्गत पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिको समस्या देखिएको थियो । मागअनुसारको विद्युत सप्लाई हुन नसकेपछि श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेका थिए । त्यसपछि प्राधिकरणको चौतर्फी आलोचना भएको थियो ।
मिडियादेखि सामाजिक सञ्जालमा प्राधिकरणको मात्र होइन, सरकारकै आलोचना भएको थियो । प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री दिपक खड्का, प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना भएको थियो । ऊर्जामन्त्री खड्का र प्राधिकरण प्रमुख शाक्यले सार्वजनिक रूपमा प्रस्टीकरण दिनुपरेको थियो । लगत्तै प्राधिकरण प्रमुख शाक्य चनौली वितरण केन्द्र पुगेर वस्तुस्थिति हेरेर फर्केको केही समयमै श्रेष्ठको सरुवा भएको हो । झ्यापझ्याप बत्ती जाने गरे पनि प्राधिकरणले लोडसेडिङ इतिहास भइसकेको दाबी गरेको छ ।














प्रतिक्रिया