काठमाडौं । प्रहरीले चलाएको गोली लागेर सप्तरीको राजगढ गाउँपालिका–२ निवासी लालु यादवको मृत्यु भएको छ । मंगलबार राति मदिरा भण्डार गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा उनको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए ।
उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएपछि सोही सूचनाबमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो । तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुंगामुढा प्रहार गर्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले ७ राउन्ड गोली चलाएको दाबी गरेको छ ।
सोहीक्रममा तिघ्रामा गोली लागी यादवव घाइते भएका थिए । अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अप्रेसन चलाएको स्थान नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने प्रहरीको भनाइ छ । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ । बिहार सरकारले मदिरा बेचबिखन गर्न प्रतिबन्ध लगाएपछि नेपालको सीमावर्ती क्षेत्रमा मदिरा भण्डार गरिन लागिएको छ । अधिकांश ग्राहक भारतीय नागरिक हुने गरेका छन् ।














प्रतिक्रिया