सरकारबाट शिक्षकलाई फेरि धोका, भनेको समयमा आएन शिक्षा विधेयक


काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारलाई विद्यालय शिक्षा विधेयक जारी गर्न दिएको समय बुधबार राति १२ बजे सकिँदैछ।

महासंघले तीन साताअघि पत्रकार सम्मेलन गरेर साउन २१ गतेसम्मको समय दिएको थियो । तर आजसम्म सरकारले विधेयक ल्याउने कुनै संकेत गरेको छैन । शिक्षामन्त्री रघुजी पन्तले शिक्षा तथा स्वास्थ्य समितिको बैठक टार्दै आएका छन् । मन्त्री पन्तले कांग्रेसलाई देखाएर विधेयकमाथि छलफल गर्न चासो देखाएका छैनन् ।

शिक्षामन्त्री विद्या भट्टराईलाई हटाएर मन्त्री बनेका पन्तले सुरुसुरुमा विधेयक ल्याएरै छाड्ने भाषण छाँटेका थिए । तर अहिले उनी गुमनाम छन् । २०८० भदौ २७ गते तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा प्रस्तुत गरेका थिए। विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको दुई वर्ष बित्नै लाग्दा यसमाथि छलफल निरन्तर चलेको चलै छ ।

विधेयकमा विद्यालय सञ्चालकहरूले इन्ट्रेस्ट राखेकाले पनि विलम्ब भएको हो । त्यसमाथि शिक्षकहरूले खुला प्रतिस्पर्धाको प्रतिशत धेरै राख्न नचाहेपछि छलफल लम्बिएको छ । विद्यालय शिक्षा विधेयकको माग राख्दै नेपाल शिक्षक महासंघको अगुवाइमा गत वैशाखमा एक महिनासम्म आन्दोलन चलेको थियो । तर आन्दोलन विना उपलब्धि टुंगिएको छ । त्यसबेला सरकारले असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने सहमति गरेको थियो । तर एक महिनासम्म पनि आएको छैन ।