ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य प्रतिष्ठान नेतृत्वलाई दिए यस्तो चेतावनी


काठमाडौं – राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति आक्रोश व्यक्त गर्दै नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।

जुम्लाबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताए।

शाहीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिष्ठानका कार्यवाहक उपकुलपति र रजिस्ट्रारको वार्षिक ५० लाख तलब र अनावश्यक कार्यकर्ता भर्तीमा करोडौं खर्च भएको आरोप लगाएका छन् । तर जनताको स्वास्थ्य सेवाका लागि आधारभूत जनशक्ति व्यवस्थापन नगरेको भन्दै दादागिरी देखाएको बताएका छन् ।

शाहीले यो बेथितिविरुद्ध कर्णाली र जुम्लावासी चुप नबस्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई जानकारी गराइसकेको र चाँडै सुधारको अपेक्षा गरेका छन्। ‘यो दादागिरीका विरुद्धमा सिंगो कर्णाली र जुम्ला जिल्ला चुप लागेर बस्दैन हेक्का रहोस्। बेलैमा सुध्रिनुस्। हैन भने कर्णालीवासी एवं जुम्ली जनताले आफ्नो अधिकार प्रयोग गर्नेछन्,’ उनले लेखेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजिस्टको अभावमा सिटीस्क्यान र एमआरआई सेवा लामो समयदेखि बन्द रहेको समाचार सार्वजनिक भएलगत्तै शाहीले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।