पार्टीको नक्कली लेटरप्याड प्रयोग गरेर अमेरिका जानेमाथि कांग्रेसले निगरानी गर्ने


काठमाडौं– दुई दशकपछि बल्ल कांग्रेसले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर अमेरिका जाने गरेको रहस्य थाहा पाएको छ । अमेरिका र युरोपका विभिन्न देशमा पुगेका सयौं नेपाली नागरिकले कांग्रेसको सदस्यता लिँदै माओवादीबाट पीडित भएको कागजपत्र बनाउने गरेको पाइएको छ ।

खासगरी अमेरिकामा रहेका अधिकांश एमाले र माओवादी नेता कार्यकर्तासँग अहिले कांग्रेसको चौवन्नी सदस्यता पाइन्छ । तिनीहरूले नेपालमा बस्न तत्काली विद्रोही माओवादीका कारण शरणार्थी बन्न बाध्य भएको कागजपत्र बनाउने गरेको पाइएको छ ।

कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको बहाना बनाएर अमेरिकालगायतका देश गएका नेपालीमाथि निगरानी गर्ने भएको छ ।

कांग्रेस रोल्पाले पार्टी गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादीका कार्यकर्ताले धम्की दिएकाले नेपालमा बस्न नसकी जीवनरक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भन्दै गलत सिफारिस बनाएर सम्बन्धित देशमा पेस गरेका र गर्ने प्रक्रियामा रहेकाहरूमाथि निगरानी बढाउने भएको हो ।

‘यस प्रकारका गलत, भ्रामक र कानूनविपरितका कार्यहरूको बारेमा सम्बन्धित देश ९विदेश० मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्यतथ्य पत्ता लगाई सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत् सचेत गराइएको छ,’ कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।