बालेन र आईजीपी थापाबीच भेटवार्ता, हनुमानढोकाको जीर्ण प्रहरी भवन भत्काइने



काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रहरी महानिरीक्षक दीपक थापाबीच मंगलबार भएको भेटवार्तापछि हनुमानढोकामा रहेको जीर्ण प्रहरी भवन हटाउने सहमति भएको छ।

२०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त भवन अहिले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायर क्षेत्रमै पर्दछ। स्थानीयले लामो समयदेखि त्यहाँको प्रहरी भवन हटाउनुपर्ने माग गरिरहेका थिए।

भवनमा रातो स्टिकर टाँसिएको छ भने केही प्रहरी सुरक्षार्थ बस्दै आएका छन्। २०१२ सालमा स्थापना गरिएको यो परिसर पछिल्लो समय खाली रहेको छ।

यसै भेटमा रामशाहपथस्थित ट्राफिक महाशाखाको लागि थप जग्गा उपलब्ध गराउने विषयमा पनि मौखिक सहमति भएको महानगर स्रोतले जनाएको छ।