काठमाडौं – नेसपा नयाँ शक्तिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार बिहान भैरहवा कारागार पुगेर उनले रविलाई भेटेका हुन् ।
भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । भेटपछि उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएकोसमेत बताए ।
भट्टराईले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने, तर अहिले लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको उनको भनाइ छ ।बाबुरामले यसअघि रास्वपाको केन्द्रीय कार्यालय पुगेर रविको पक्षमा हस्ताक्षर गरेका थिए ।
बाबुरामले अदालतले नै जमानतको व्यवस्था गरेकाले रविलाई बाहिरबाटै मुद्दा लड्न दिइनुपर्ने बताए । राजनीति गर्ने व्यक्ति यस्ता घटनामा परिहरन्छन् भन्दै उनले सांसदलाई लामो समय थुनामा राखेर निर्वाचन क्षेत्रका मतदातामाथि अन्याय गर्न नहुने पनि बताए ।
भट्टराईले रविलाई कारागारभित्र पत्रपत्रिका पनि पढ्न नदिइने र सूचनाको हकबाट समेत वञ्चित गराएको देखिएको बताए । उनले पञ्चायती व्यवस्थामा आफूहरु जेल पर्दा पनि पत्रपत्रिका पढ्नबाट वञ्चित नगराइएको उल्लेख गरे । उनले राज्यले रविमाथि प्रतिशोध साँध्न नहुने बताएका थिए ।














प्रतिक्रिया