काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा पौने तीन करोड रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका छन् । आफूलाई थुनामुक्तको माग गर्दै उनले बिगो बराबर बैंक जमानत अदालतमा बुझाएका हुन् ।
रविले दुई करोड ७४ लाख ८४ हजार बैंक जमानत पेस गरेको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले पुष्टि गरेका छन् । निवेदनमा उनले आफूमाथि प्रतिशोध साँधिएको तर्क गरेका छन् । जिबि राई समूहले बुटवलको सुप्रिम सहकारीको करोडौँ रकम गोरखा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी तवरले लगानी गरेको यो प्रकरणमा रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर लगाइएको छ ।
यसअघि जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा छोड्न आदेश गरेको थियो । तर, उक्त रकम धेरै भएको र आफू साधारण तारिखमा छुट्नुपर्ने जिकिर रवि उपल्लो अदालत गुहार्न पुगे । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएपछि चैत २५ देखि उनी भैरहवा कारागारमा छन् ।
त्यसविरुद्ध उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गरिनुपर्ने माग गर्दै सोमबार निवेदन दर्ता गराएका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ । अदालतमा यी तीनवटै मुद्दा लागेको छ ।
तर रास्वपाले रविलाई राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेको छ । रविले काठमाडौं आउन पनि निकै बल गरेका थिए । तर उनको अड्डासार भएन । यसपटक जिल्ला अदालत रुपन्देहीले उनको मुद्दा बारे निर्णय गर्ने बुझिएको छ ।














प्रतिक्रिया