विपीनका आमा र बहिनी इजरायल जाँदै, राष्ट्रसंघमा लैजाने


काठमाडौं – दुई वर्षदेखि प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई आगामी सोमबार इजरायल लैजाने तयारी छ । नेपालस्थित इजरायली दूतावासले सोमबारका लागि टिकट काटिसकेको छ ।

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म लगेर हमासलाई दबाब दिने योजना बनाएको छ । उनीहरूलाई अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने इजरायलको योजना छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए । हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ । हमासको आक्रमणपछि इजरायलमा फसेका नेपाली नागरिक स्वदेश फिर्ता ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैँ राजधानी तेल अविव पुगेका थिए ।