काठमाडौं – सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले थुनामुक्त हुन कानुनमा नयाँ प्रयोग गर्ने भएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाडेको थियो । रविले आफूलाई जिल्ला अदालतले तोकेको धरौटी रकम बढी भएको भन्दै त्यसलाई बदरको मागसहित साधारण तारेखमा छाड्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । उच्चले रविलाई पुर्पक्षमै रहेर मुद्दा लड्नुपर्ने फैसला गरेपछि उनी कारागार पुगेका हुन् । रविले बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेर सर्वोच्च अदालतबाट रिहा हुन खोजेका थिए । तर सर्वोच्चले पनि उच्चकै आदेशलाई सदर गरेपछि उनको हिरासत बसाइँ लम्बिएको हो ।
यतिबेला भने रविले कानुनमा नयाँ नयाँ छिद्र खोजेर थुनामुक्त हुन खोजिरहेको बुझिएको छ । त्यसैका लागि उनले गत सोमबार जिल्ला अदालतमा सहकारी ठगीमा अदालतले तोकेको बिगोको रकममध्येबाट आफ्नो भागमा पर्ने दुई करोड ८४ लाख रुपैयाँ धरौटी रकम बुझाउँदै थुनामुक्तिका लागि निवेदन दिएका छन् ।
जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतले रविलाई मुद्दाको फैसला नभइञ्जेल थुनामै रहन आदेश सुनाइसकेको छ । तर पनि नमागिएको बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गर्नुलाई सामान्य मानिएको छैन । त्यति मात्र होइन, बैकले नमागेको धरौटी रकम र रिहाइको मागसहितको निवेदन अदालत प्रशासनले दर्ता गर्नुले यसमा ठूलै चलखेल भएको आशंका गरिएको छ ।
रविलाई जसरी पनि कारागारबाट थुनामुक्त गराउन अहिले जिल्ला अदालतका तीनजना न्यायाधीशसँग रास्वपाले ‘डिल’ गरिरहेको स्रोतले बतायो । त्यसैले गर्दा आफू अनुकू्रलको इजलासमा मुद्दाको पेसी नपरिञ्जेलसम्म रवि पक्षका कानुन व्यवसायीले पेसी सार्दै आएका छन् । तीनपटकसम्म पेसी सार्नुले पनि त्यही आशंकालाई बल पुगेको छ । आफू अनुकूलको न्यायाधीशको इजलासमा पेसी गरेको दिन रवि तत्काल छुट्ने नेताहरूको भनाइ छ । तर जिल्ला अदालतको इजलासले मात्र रविले दिएको निवेदनको फैसला गर्नेछ । अदालतलाई समेत भ्रममा पार्न बैंक जमानतको विषय अघि सारिएको भन्दै यसको पक्ष विपक्षमा बहस हुन थालेको छ ।
रास्वपा र रवि पक्षले अहिले गरिरहेको चलखेलबारे सरकार अनभिज्ञ भने छैन । यदि अहिले रविले जुन तरिका अपनाएर थुनामुक्त हुन खोजिरहेका छन्, त्यसको सिको भोलिका दिनमा अन्य सहकारी ठगले पनि अनुशरण गर्ने देखिन्छ । किनभने अदालतको नजिर स्वतः कार्यान्वयन र लागू हुन्छ । सहकारीबाट अर्बौ रकम ठगी गर्ने अनि कानुनको कमजोरीको फाइदा उठाएर इजलास नै आफ्नो अनुकूल पार्ने खेल भोलिका दिनमा जसले पनि गर्न सक्ने देखिएको छ । यतिबेला सहकारी ठगीमा रवि मात्र होइन, पाँच सयभन्दा थुनामा छन् ।
रास्वपाले रविलाई राजनीतिक प्रतिशोध साँधेको भन्दै देशभर हस्ताक्षर अभियान चलाएको छ । अहिलेसम्म ३२ लाखभन्दा बढीले हस्ताक्षर गरेको रास्वपाको दाबी छ । यससँगै रास्वपाले चन्दा संकलन पनि थालेको छ । रास्वपाले ५६ लाख संकलन भइसकेको जनाएको छ ।














प्रतिक्रिया