देउवा निवासमा कांग्रेसका चार शीर्ष नेताको दुई घण्टा गोप्य बैठक, गगनलाई सार्नेबारे पनि छलफल


काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मासँग शुक्रबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा दुई घण्टासम्म गोप्य छलफल गरेका छन्।

कांग्रेस स्रोतका अनुसार छलफल पार्टीको आन्तरिक विवाद, आगामी उपनिर्वाचन, भ्रातृ संस्थाहरूको अधिवेशन, सदस्यता वितरण र १५औँ महाधिवेशनको तयारीमा केन्द्रित थियो।

छलफलपछि महामन्त्री गगन थापाले प्रस्तुत गरेको भ्रातृ संस्था अधिवेशनसम्बन्धी कार्यादेशमा सहमति जुटेको बताइएको छ। देउवाले गगन थापाको नेतृत्व क्षमता प्रशंसा गर्दै “गगनभन्दा बलियो नेता अहिले पार्टीमा छैन,” भनेर सशक्त नेतृत्वको आवश्यकता औंल्याएका थिए।

उनले भने, “पहिले कांग्रेस भन्नु गर्वको कुरा थियो, अहिले त नाक खुम्च्याएर हिँड्नुपरेको छ। पार्टीलाई बनाउने होइन, भत्काउने ग्रुप-गुर्टको चलखेल देखिन्छ।”

छलफलमा पार्टी सभापतिमा गगन थापालाई सार्ने सम्भावनाबारे पनि खण्डित रूपमा चर्चा भएको बताइएको छ। यता, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको भूमिकाबारे समेत प्रसङ्ग उठेको थियो।

यसअघि गृहमन्त्री रमेश लेखकले पनि महामन्त्री थापा र शर्मासँग मेरियट होटलमा छुट्टै बैठक गरेका थिए। यद्यपि, उक्त भेटको औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन।