काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए ।
‘देउवा, ओली र प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थें । अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरुप्रति । उहाँहरुले नेपालमा ठूलो योगदान गर्नुभएको छ । तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ,’ उनले भने ।
थापाले नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै राजनीति फोहोर जमेको पोखरी जस्तो भएको टिप्पणी गरे । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुन लाग्दासमेत उही पुराना देशको सबैभन्दा ठूलो नेताका रुपमा रहेको भन्दै उनले आपत्ति जनाए । पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बद्ल्नुपर्ने उनको भनाई छ ।
‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ । यस्तो लोकतन्त्रमा काहीँ हुँदैन । म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी ओली र प्रचण्ड नै । म अहिले ५० वर्ष हुन लाग्दासमेत उहाँहरु नै हुने कुरा लोकतन्त्रमा यस्तो हुँदैन । पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ, यो नबदलेसम्म हुँदैन,’ उनले भने ।














प्रतिक्रिया