पहिले चलेका चलचित्रका ब्याज खाने होडमा निर्माता, बोक्रा देखाएर दर्शकलाई भ्रम छर्दै


काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । अघिल्लो एक महिना त नेपाली चलचित्र हलमै थिएनन् । नेपाली चलचित्रका दर्शकसमेत हिन्दी र अंग्रेजी चलचित्र हेर्न विवश थिए । यस्तो किन भयो त भन्ने कसैले पनि बताउन चाहँदैन ।

यस वर्ष रिलिज भएका एकाध चलचित्रबाहेक सबै फ्लप बनेका छन् । नेपाली चलचित्र चाडपर्व रिलिज गर्ने र पैसा कमाउने परम्परा छ । यस वर्ष पनि त्यस्तै दृश्य देखिएको छ । भदौ र असोजमा चलचित्रका बाढी छन् । तर अन्य सिजनमा राम्रा र ठूला ब्यानरले चलचित्र प्रदर्शन गर्नै चाहँदैन ।

धेरैजसो नाम चलेका निर्माता र ब्यानर कम्पनीबीच अहिले पहिले चलेका चलचित्रको ब्याज खाएर आफूले बनाएका चलचित्र राम्रो, उत्कृष्ट भएको भन्दै भ्रम छर्न थालिएको छ । यसमा कोशेढुंगा, जनै हराएको मान्छे, गुन्युचोलो, अभिमन्यु जस्ता चलचित्रका निर्माता छन् ।

पछिल्लो समय सफल भएको चलचित्र पूर्णबहादुरको सारङ्गीको ब्याज खाने दौडमा यसका निर्माता विनोद पौडेल सक्रिय देखिएका छन्। अहिले ‘जनै हराएको मान्छे’ चलचित्र सोही लहरमा छ। यसका निर्माता र वितरक अभिनेता विजय बरालको नाम बेच्न लागिपरेको छ । हिजो पूर्णबहादुरको सारंगी विजयकै अभिनयका कारण चलेको भन्दै उनको नाम बेच्न लागिएको हो । कथा, टिम, कलाकार र निर्देशन सबै पक्षमा सन्तुलन र गुणस्तर नभए पनि कलाकारको टाउको मात्रै बेच्दा गुदी नभएपछि दर्शक भाँडिने निश्चित छ ।

यसअघि ‘यो मन त मेरो नेपाली हो’ मा पनि विजय बराललाई ‘बेच्ने’ प्रयास भएको आरोप थियो। तर चलचित्र राम्रो चलेन । अहिले फेरि ‘जनै हराएको मान्छे’ मा पनि उनीमाथि त्यस्तै प्रयोग भइरहेको चर्चा छ। पूर्णबहादुरको सारंगीको जस्तै भर पर्दा ‘जनै हराएको मान्छे’ पनि जोखिमको चपेटामा पर्न सक्ने विश्लेषण हुन थालेको छ ।

‘अभिमन्युः च्याप्टर १’ अहिले पोस्ट प्रोडक्सनमा छ। चलचित्रमा सरिता गिरी, गौमाया गुरूङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्। एउटा पनि चलेका स्टार कास्ट चलचित्रमा छैनन् । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको फिल्मको मुख्य कथा भएको बताइएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्म ‘अभिमन्युः च्याप्टर १’ लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। चलचित्रको निर्माता विनोद पौडेल हुन् । पूर्णबहादुर सारंगीबाट कमाएको पैसाले उनले एकैपटक तीन चारवटा चलचित्रमा लगानी गरेका छन् ।

त्यस्तै अवस्था छ ‘कोशेढुंगा’ चलचित्रको पनि । यो चलचित्रको निर्देशन ‘पूर्णबहादुर सारंगी’ को निर्देशक सरोज पौडेल गरेका हुन् भने यसको निर्माण प्रेबिल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ। नरदेवी फिल्मस्को प्रस्तुति रहेको ‘कोशेढुंगा’ यही भदौ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ । सुरक्षा पन्त र आर्यन सिग्देल जस्ता स्टारकास्ट भए पनि निर्माण पक्ष ढुक्क भने छैन ।

गुन्युचोलो लैङ्गिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको चलचित्र हो । समुन्द्र भट्टले निर्देशन गरेको चलचित्रमा नाजिर हुसेनको बलमा चल्छ भन्ने विश्वासमा निर्माण पक्ष छ । तर नाजिरले सोलो अभिनय गरेका चलचित्र चलेका छैनन् । हुसेनका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन् ।