काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीमाथि भएको हमलामा घाइते थप एकजनालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ ।
घाइते कैदीबन्दी २४ वर्षीय कर्ण सलामीमगरलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सारुमगरलाई नियमित उडानबाट काठमाडौँ पठाउन लागिएको बताए । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार सारुमगरको बायाँ हातको हड्डी भाँचिएको छ । हातको नशामा समेत फाटेको देखिएको छ ।
शुक्रबार राति कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहले सांघातिक हमला गर्दा धनगढी उपमहानगरपालिका–४, का भरत चौधरीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए ।
गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि नेपाली सेनाको स्काइ ट्रकबाट शनिबार बेलुकी काठमाडौँ लगिएको थियो । घाइते एकजनाको निसर्ग अस्पताल र अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली कारागारमा यसअघि पनि पटकपटक यस्ता झडपका घटना हुँदै आएका छन् । तर अहिलेसम्म स्थानीय प्रशासन र सरकारसमेत सचेत भएको देखिएको छैन । बाँके, विराटनगर, भक्तपुरका विभिन्न बाल बन्दीगृहमा यस्तो अराजकता देखिइसकेको छ ।
कैलाली कारागारमा सुरक्षाकर्मीसमेत पस्न नसक्ने गरी कैदीबन्दीले दुई दिनसम्म आफ्नो नियन्त्रणमा लिनु सामान्य घटना होइन । कारागारमा पाँच सयभन्दा बढी कैदीबन्दी छन् । अहिले कारागार प्रशासनले कति कैदीबन्दी छन् भनेर गन्न थालेको छ । अवस्था अप्रिय हुन लागेपछि कैदीबन्दीका आफन्त कारागार प्रशासन अगाडि भेला भएका छन् । कैदीबन्दीहरूले सुरक्षाकर्मी होइन, मन्त्रालय र विभागका कर्मचारीसँग कुराकानी गर्ने भनेका छन् ।
देशमा रहेका यस्ता धेरै कारागार जोखिममा छन् । साँघुरो भवनमा पाँच गुणासम्म कैदीलाई राख्दाको उदाहरण हो कैलाली कारागार झडप । यसले आगामी दिनमा धेरै कारागारमा विस्फोटको संकेत गरेको छ ।














प्रतिक्रिया