रविको रिट निवेदन न्यायाधीश सापकोटाको इजलासमा, न्यायपरिषद्मा उजुरी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनमाथि रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुने भएको छ ।

रविले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर थुनामुक्त गर्न माग गरेका छन् । निवेदनमाथि सोमबार सुनुवाइ हुने तय भएको हो ।

रविले थुनामुक्त गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दर्ता गरेका थिए । तर त्यतिबेला सुनुवाइ हुन सकेको थिएन । सुप्रिम बचत तथा ऋण सहकारीमा भएको अपचलन सम्बन्धी मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखिएको हो ।

यसअघि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले २०८१ माघ १३ गते एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते उनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

यता, सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका रविले अदालतमा हालेको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । अधिवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषदमा उजुरी दर्ता गराएका हुन् । निवेदनमा ‘मुद्दालाई अनावश्यकरूपमा लम्ब्याउने या अनुचित प्रभाव पार्ने मनसायले काम गरेको देखिएकाले सोही ऐनको दफा १२ (ङ) बमोजिम माथिल्लो अदालतले दिएको आदेश अवज्ञा हुने गरी दर्ता नै हुनु नपर्ने निवेदन दर्ता गरिएकाले छानबिनको गरी दोषीलाई हदैसम्मको कारबाही गर्न’ माग गरिएको छ ।

रविलाई छुटाउने बहानामा कानूनको छिद्र प्रयोग गरेर पेश गरिएको निवेदन दर्ता भएको सम्बन्धमा कानून व्यवसायीले नै प्रश्न उठाएका छन् ।