नाजिर हुसेन सोलो हिरो भएको चलचित्र किन चल्दैन ?, नाजिरको फिल्म सामाजिक संजालमा मात्र


काठमाडौं – अभिनेता नाजिर हुसेन फरक अभिनयका कारण जहिल्यै चर्चामा रहन्छन् । म्युजिक भिडियो, रंगमञ्च हुँदै ठूलो पर्दाको चलचित्र खेल्दै आएका नाजिर अझै स्थापित हुने दौडमा छन् । करिब आधा दर्जन चलचित्रमा मुख्य भूमिका निभाए पनि उनी त्यति चलेका छैनन् ।

अहिलेसम्म उनले राज्ज रानी, केटी हराएको सूचना, देवी, गाँठोलगायतमा अभिनय गरेका छन् । तर कुनै पनि चलचित्रले बक्स अफिसमा कमाल देखाउन सकेनन् । चलचित्र बनाउँदासम्म नाजिर चर्चामा रहन्छन् । तर जब रिलिज हुने बेला हुन्छ, कहीँकतै चर्चामा आउँदैनन् । दर्शकले उनका चलचित्र कहिले लागे कहिले उत्रे भन्ने भेउसमेत पाउन छाडेका छन् ।

यतिबेला उनी समुन्द्र भट्ट निर्देशित ‘गुन्युचोलो’ चलचित्रका कारण चर्चामा छन् । चलचित्र चाँडै रिलिज हुँदैछ । गुन्युचोलोमा उनले गरेको पारालैंगिक पात्रको भूमिकाका कारण धेरैले उनको अभिनयको तारिफ पनि गरेका छन् ।

निर्माण पक्षको विश्वास छ कि फिल्म नाजिरकै बलमा चल्नेछ। तर यथार्थमा हेर्दा नाजिरका अघिल्ला सोलो फिल्महरूले बक्स अफिसमा खासै सफलता हात नपारेकाले यसै भन्न सकिने अवस्था पनि छैन ।

नाजिर अहिले चलचित्र प्रोमोसनका लागि दौडधूपमा छन् । गाईजात्राको अवसरमा तेस्रोलिंगीको कार्यक्रममा नाजिर हुसेन फिल्मको प्रचार गर्न पुगेका थिए। यो शैलीलाई कतिपयले फिल्मको प्रचारका लागि साहसी कदम भने पनि कतिपयले मनोरञ्जनको आकर्षणका रूपमा हेरेका छन् । नाजिरले पारालैंगिक महिलाको भूमिका सामाजिक सन्देश र संवेदनशीलताका साथ न्याय गर्न सफल हुनेछन्, वा यो भूमिका केवल प्रचार र मनोरञ्जनमै सीमित रहनेछ, यसको उत्तर फिल्म रिलिज भएपछि थाहा भइहाल्छ ।

चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ। मुख्य भूमिकामा नाजिर छन् । उनकै वरिपरि चलचित्रको कथावस्तु घुमेको बताइन्छ ।

म्युजिक भिडियो खेल्दा नाजिरले जति चर्चा र लोकप्रियता पाएका छन्, ठूला पर्दाको चलचित्रमा त्यसका आधा पनि छैन । त्यही भएर निर्माण पक्षले प्रचार प्रसारमा पनि त्यति चासो नदेखाएको देखिन्छ ।

नाजिर हुसेनको फिल्म चलेपछि ओहो उनले कस्तो राम्रो काम गरेका, लौ नाजिरको जस्तो अभिनय त फिल्म क्षेत्रमा कसैले गर्दैन भनिन्छ । तर, के गर्ने हो खै ? नाजिरको तारिफ गर्नेहरु पनि हलमा पुग्दैनन् । अहिले पनि ट्रेलरको चर्चा त छ । तर, यो चर्चाले काम गर्ला त अनी । नाजिरको चर्चा सामाजिक संजालमा मात्र गरेर के गर्नु र ?

समुन्द्र भट्टलाई फेरि गुन्यु चोलोको आक्रामक प्रचार गर्नुपर्छ भन्ने नै लागेको छैन । विना प्रचार नाजिर नाजिर भनेर मात्र के गर्नु ? भोलिका दिनमा हलमा लागेपछि मान्छे नआएका त नाजिरका फिल्ममा उदाहरण धेरै छन् । गुन्यु चोलो के होला त खै ? भदौ १३ गते नै कुर्नुपर्ने हो त ?