काठमाडौं – पूर्वडिआईजी रमेश खरेलले रास्वपा सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा कारागार व्यवस्थापनमा कुनै चासो नदिएको बताएका छन् । आफैं गृहमन्त्री हुँदा केही नगर्ने अनि अहिले कारागारमा न्यूनतम सुविधा पनि पाइएन भन्दै रोइलो गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ ।
गत वर्ष बारामा रास्वपाकै चुनाव चिन्ह घन्टी लिएर उपनिर्वाचन उठेका खरेलले रास्वपाका नेतालाई राजनीतिभन्दा माथि उठेर सोच्न आग्रह गरेका छन् । ‘आज आएर रविलाई कारागारमा न्यूनतम मानवीय अधिकार दिइएन भनेर कुरा गर्नेहरुले यत्रो समयसम्म यो विषयबारे बोल्दै बालेनन् । झन्, आफै गृहमन्त्री हुँदा, यो विषयमा त रविले आफै पनि काम गर्न सक्नुपथ्र्यो । तर, हिजो यी समस्याहरु अनदेखा गरेकाहरुलाई आज कराएको देखेर निकै दया लागेर आएको छ । रविजस्तै न्यूनतम अधिकारबाट वञ्चित हजारौँ कैदीबन्दीहरू वर्षौँदेखि मौन पीडा सहेर बसेका छन् । कारागार केवल सजाय दिने थलो मात्र होइन, सुधार र पुनःस्थापनाको स्थान हुनुपर्छ । रविको पार्टीलाई राजनीतिभन्दा माथि उठेर सोच्न अपिल गर्दछु,’ खरेलले भनेका छन् ।
विगतदेखि नै कारागारको अवस्था दयनीय रहेको उनले बताएका छन् । ‘कारागारका समस्या नयाँ होइनन्, यसअघि पनि थिए र आज पनि उस्तै छन् । तर, अहिले जसरी एकाएक सबैको ध्यान कारागार व्यवस्थापनतर्फ गएको छ, त्यो अलि पहिला गएको भए, सायद अवस्था धेरै अघि नै परिवर्तन भइसकेको हुन्थ्यो । देशका अधिकांश कारागारमा कैदीबन्दीहरूको अवस्था अत्यन्तै दयनीय छ । स्वच्छ खानेपानी र पौष्टिक खानाको अभाव, पर्याप्त सुत्ने कोठा र ओछ्यानको अभाव, सफा र पर्याप्त शौचालयको अभाव । यी सबै सरकारको दृष्टि मै नपरेका अत्यन्त गम्भीर समस्याहरु हुन् । त्यहाँ रहेका कैदीबन्दीहरूको मानसिक स्वास्थ्यको अवस्था झन् चिन्ताजनक छ,’ खरेलले भनेका छन् ।
कारागारकै कारण कतिपय कैदीबन्दी तनाव, डिप्रेशन, आक्रोश र आत्महत्या गर्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘लामो समयसम्म भीडभाड र अस्वस्थ वातावरणमा बस्दा तनाव, डिप्रेशन, आक्रोश, र आत्महत्या जस्ता समस्याहरू बढिरहेका छन् । धेरैजसो कारागारमा स्वास्थ्य उपचारको सुविधा न्यून छ, कानूनी सहायता पाउने प्रक्रिया सुस्त छ, र पुनस्र्थापनाका कार्यक्रमहरू प्रायः शून्य छन्,’ उनले भनेका छन् ।














प्रतिक्रिया