रवि लामिछानेको थुनामुक्ती माग निवेदनमाथिको बहस सकियो, आदेश पर्खाइमा


रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दर्ता गरेको थुनामुक्ती माग सम्बन्धी निवेदनमाथिको बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जनाएको छ।

बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्। उनले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै, बचतकर्ताको रकम फिर्ता दिलाउने जिम्मा लिन तयार रहेको तर्क गरेका छन्। यही साउन १९ गते सोमबार जिल्ला अदालत रुपन्देहीमा पेश गरेको निवेदनमार्फत उनले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गरेका थिए।

न्यायाधीश सापकोटाको इजलासमा दोस्रो नम्बरमा तोकिएको लामिछानेको निवेदनमा सुनुवाइ हुँदै बहस सकिएको हो। रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार आदेश भने अझै जारी भएको छैन।

लामिछानेले ठगी रकमको बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै बुझाएका थिए।

उक्त सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।